कविता : निर्धूम ज्योति
– ऋषभदेव घिमिरे
अहिंसा परमो धर्मको आचारसंहिताले
चोख्याउनु छ कविताको गर्भगृह
निष्कलङ्क राख्नु छ निर्दोष धरोहरहरू
अभिशप्त बनाएर खेद्नु छ
अपराधिक मनोविज्ञानका अवशेष र मनुवा
दाहसंस्कार गरेर हटाउनु छ
सामाजिक विसङ्गतिका कसुरदार
निरपराध कविता भन्न सक्दिनन्
भ्रष्टाचारीलाई कीरा परोस्
लिन सक्दिनन् सजाय तोक्ने अख्तियारी
लेख्न सक्दैनन् काव्यकारले
अपराधको रिट निवेदन
ब्यूँताउने परिकल्पना गर्न सक्दैन कवि
अपराधी थुन्ने कुमारीचोक
हिंसा, प्रतिहिंसा र दोषहरू
निमिट्यान्न पार्न लिनु छ आफैँले सङ्कल्प
पढ्नु छ नैतिकताको पाठ
सदाचारको विश्वविद्यालयबाट
उपाधि ग्रहण गरेर
धारण गर्नु छ मूल्य र मान्यताको कवच
हटाउनु छ स्वयंले दोषको बादल
भत्काएर जेल
बनाउनु छ सबै अट्ने सत्यालय
प्रतिबद्धताको मखमली उपर्ना ओढेर
गर्नु छ दृढ र नूतन सङ्कल्प
उखेल्नु छ मौलाउँदै गएका
अपराधका वनमारा झारहरू
रोप्नु छ अविश्रान्त उमङ्ग र उत्साहका जाँगरहरू
भर्नु छ कलुषित मानसपटलमा
सुविचारका शीतल सञ्चारहरू
अन्तर्चेतनाको दीपशिखा जगाएर
बाल्नु छ दसै दिशामा आदर्शको निर्धूम ज्योति
आफैँले पन्छाएर
आफ्ना यावत् दुर्गुण र कुकृत्य
घोट्नु छ आफूले आफैँलाई इमानदारको कसीमा
जोख्नु छ आफ्ना तमाम स्वार्थसिद्धिका मापनहरू
र, समाउनु छ सत्य र निष्ठाको तुलो
गणितका चिह्नहरूबाट झिकेर
घटाउनु छ अपराध
जोड्नु छ सहिष्णुता
गुणा गरेर निकाल्नु छ
अपराधरहित समुन्नत
सामाजिक संरचनाको योगफल ।
No comments:
Post a Comment