Madison Kothey Sahitya

कविता : किर्नाहरु

 कविता : किर्नाहरु
– डा. ऋषि बस्ताकोटी


लैना हुन् कि बकेर्ना हुन्
बाच्छा–पाडा हुन् कि बूढाखाँडा हुन्
किर्नाका लागि केही फरक पर्दैन
आङमा पर्न पायो भने
छालामा टेक्न पायो भने
लपक्कै लाएर छाला जस्तै भएर
टपक्कै टालिन्छन् किर्नाहरू
मानिलिऊँ कि
बाहिरी अवयव हुँदै होइनन्
शरीरकै एक अङ्ग हुन् किर्नाहरू !



खान नपाएर टाक्सिएका हुन् कि
खाँदा खाँदा उकासिएका हुन्
किर्नाको धर्म रगत चुस्नु हो
चुसिरहन्छन्
छालामा टाँसिएर
रौँमुनि आश्रय लिएर
आफ्नै अङ्ग हुन् कि झैँ गरी
एकतमास चुसिरहन्छन्
चुस्दाचुस्दै ढाडिएर
अड्नै नसकेपछि बरु भुइँमा झर्छन्
तैपनि अघाएर सन्तोष मान्दैनन् किर्नाहरू

किर्नाले टेकेपछि
किर्नाले टोकेपछि
रगत मात्रै खान्नन्
तिनले त
– अनेकअनेक विषाणु फैलाइदिन्छन् शरीरभरि
– अनेकअनेक रोग सल्काइदिन्छन् बथानैभरि
र अनि कि भुतुक्कै मारिदिन्छन्
कि त सारै कमजोर पारिदिन्छन्

परजीवी किर्नाहरू
रगत खान्छन्, भोक मार्छन्
भुँडी फुट्ने गरी खाए पनि
दिने भनेको उही रोग हो
उही शोक हो बदलामा
अरू जान्दैनन् किर्नाले
अघाएर भुइँमा झरेपछि पनि
फेरि फूल पार्छन् र सन्तान विस्तार गरछन
अनि हजारौँ किर्ना जन्माएर संसार किर्नामय बनाउँछन्

फेरि नयाँ किर्नाले पनि
उसै गरी रगत चुस्ने हो
रोग सार्ने हो
सके मार्ने हो
नसके कमजोर पार्ने हो

टाक्सिएका हुन् कि उकासिएका हुन्
किर्नालाई माया गर्नु भनेको
आफैँलाई सङ्कटमा पार्नु हो
यसैले किर्नालाई बेलैमा चिनौँ
किर्नाको बाटो छेकौँ

ताकि किर्नाले कतै टेक्ने नपाओस्
र किर्नाले कतै टोक्ने ठाउँ नपाओस्
बरु अलिअलि क्षति बेहोरेर भए पनि वर्तमानमा
आजै किर्नाको उन्मूलन गरौँ
— ता कि भोलि कतै किर्ना देख्न नपरोस्
— भोलि कतै किर्ना भोग्न नपरोस् ।
नर्थ क्यारोलाइना, अमेरिका

No comments:

Post a Comment