Madison Kothey Sahitya

कविता : भोलि आउने बिहान

कविता : भोलि आउने बिहान
– अज्ञात युवक

                    
इतिहासमा नामाङ्कित मान्छे
समयको हत्या गरेर
फरार भएको छ

इतिहास सुरक्षित राख्न
लागिपरेको समय
हत्या सहन बाध्य भएर
फरार मान्छेको खोजीमा
कठघरामा उभिन पुगेको छ



हत्या गरेको मान्छे

हत्या भएको समय
मौन छन्
न्यायमूर्तिहरू निसाफका लागि
कठघरामा खडा
वादी प्रतिवादीलाई केरकार गरिरहेछन्

सामुन्ने खडा छ मौन आकृति
हेरिरहेछ वादी प्रतिवादीलाई
यो जघन्य हत्याको अपराधमा
मान्छे गर्वले शिर ठाडो पारिरहेछ
हत्या भोग्न बाध्य समय
मृत शरीर लिएर
अब आउने निर्णयसँगै
हत्याराले पाउने सजायको प्रतीक्षामा छ

पर्दापछाडिबाट हेर्ने दर्शकहरू
कुरिरहेछन् पर्दाभित्र पस्ने अबको निर्णय

अब आउने आगतले ल्याउने परिणामहरू
 
चुपचाप मौनतामा
अपराध स्विकार्नेहरू
भोलिलाई पर्खिरहेछन्
भोलिले ल्याउने उतारचढावलाई
सामना गर्न तयार भएका
झिल्काहरूको उग्र ताण्डव नृत्य
हेर्न लालायित छन्
पर्दापछाडि रमाउनेहरू

एउटा नकोरिएको इतिहास
यो जघन्य अपराधको विरुद्ध
साइरन बजाउनेहरू
अब बज्ने बिगुलसँग त्रसित छन्
 
मान्छे
इतिहास कोर्न
भोलिको समय हेर्दै छ
समय त्रसित छ
मान्छेले कोर्ने इतिहास

भोलि आउने मान्छेसँग । ०
 

गोकर्णेश्वर ३, सुन्ताखान

No comments:

Post a Comment