Madison Kothey Sahitya

कविता : बर्को

 कविता : बर्को
– आविष्कार भारती


अपमानित भावना
अपहेलित कामना
औचित्यहीन वेदना
उपेक्षित प्रार्थना
प्रसाद यही अनि यस्तै
गरिबीलाई मिल्छ सधैँ निस्तै
 
समाज
बहिरो, अन्धो बनिदिन्छ
गहिरो, खाडल खनिदिन्छ
छोरीचेली परदेशमा पु¥याएर

जवानहरू खाडीमा मिल्क्याएर
रणमा निसास्सिएको एक्लो योद्धासरि
घिटीघिटी पानी पर्खिरहेको वृद्धसरि
कुरी बस्छ
मरेको आशा लिएर तुलसीको मठमुनि
हात पसारेर अझै अरूकै कुरो सुनी

परदेशमा नमिल्किएकाहरू
देशमा नझुल्किएकाहरू
नीति बनाउने अनि बन्ने
भुत्तो सपना उमार्न खन्ने
आँट देखाउन खोज्छन् ती कहिले
बलात्कार गरेर पुरिन्छन् ती जहिले

सम्पत्ति, सन्तति सबै लुटिए
आपत्ति, समाधान सबै थुनिए
विकासको अवरोध दलाली भयो
भाग नलागे अवरोध सधैँ रह्यो
नगद झरे समस्या सबै टरे
मती सिकाए जस्ताको तस्तै रहे
उखान नयाँ बन्दै छ भन्छन्
जुकाझैँ चुस्न ठाउँँ गन्दै छन् ।

भुस्याहा भुकाइमा राज गर्ने
लुटतन्त्र फुटतन्त्र गुटतन्त्र भर्ने
अजिङ्गरले बेह्रेझैँ बेर्दै छन्
माफिया बीउ सर्वत्र छर्दै छन
अपराधकै नयाँ धर्म अपनाउँदै
निकृष्टताकै नयाँ कर्म फुलाउँदै
मालिक–दाताकै भजनमा मस्त
राज गर्ने नीतिमै भएर व्यस्त

जनको घाउमा चुक पोखेर
सास त चलेकै छ भनी खोकेर
कति महान् भएका हाम्रा अगुवा
तैपनि ताली पिटिहाल्छन् पछिलगुवा
तलदेखि माथि, माथिदेखि तल सबै सुरसाझैँ
पैसाको स्वाद चखाउन तम्सिएकी पुतनाझैँ
स्वाधीनताको राग, बुद्धको भूमि कति अलाप्नु
पुर्खाको गाथा, सगरको माथा कति फलाक्नु
आफ्ना खुट्टोमा उभिएर केही आफूबाटै गर्नु छ
अहिले नाली सफा गरी, पछि जङ्घार तर्नु छ
कहीँ केही सानै कार्य गरी देशको रोग रोक्नु छ
समझदारीको बर्को ओडाइ विकासको भारी बोक्नु छ । ०

चाबहिल, काठमाडौँं
हालः म्याडिसन, विस्कन्सिन, अमेरिका

No comments:

Post a Comment