कविता : अपराध
– आयुष बडाल
हामीलाई आफ्नो गरिबी छोप्न
र
परिवारको भोक टार्न
गरेको
यो कर्म नै प्रिय छ
तर संविधानमा कैद भएका कानुन
तिमीहरू किन
गर्व गर्न चाहँदैनौ
हाम्रो कर्मकोस
किनभने हामी गरिब छौँ
त्यसैले होइन
हामी स्विकार्न सक्दैनौँ तिम्रो कर्मलाई
तिमी यस्तो कर्म नगर
भन्ने तिमी को ?
‘त्यसो नगर, आफैँ योग्य बन’
भन्ने तिमी को ?
हामी हाम्रो हितैषीलाई मारेरै भए पनि
गरिबी टाल्न चाहन्छौँ
‘त्यो नगर’ भन्ने तिमी को ?
भन्नुभन्दा बढी के गरौँ ?
हाम्रो छाक टार्न के दियौ ?
शरीर छोप्न के थमायौ ?
छैन नि केही –
अनि के अब मर्नु
आधारभूत आवश्यकताको पूरा गर्न
अपराध नगरे ?
प्रिय कानुन
तिमीले त हामीलाई बन्देज लाउन मात्र सिक्यौ
हामीलाई झ्यालखाना पु¥याउन मात्र जान्यौ
तर
सरकारलाई
गरिबलाई अपराध गर्नबाट रोक्न
रोजगारी दे भन्न चुक्यौ
चुक्ने तिमी–
अनि मर्नुपर्ने हामी !
थाहा छ हामीलाई
जुन कर्म हामीले गर्छौं
त्यो पाप हो
धर्म होइन भनेर
तर
यो पनि थाहा छ
निरङ्कुश सरकारले
रोजगारी दिन सक्दैन
अनि
पाप नै आजको आवश्यकता हो भनेर
न रोजगारी
न त साथ नै दिन्छौ तिमी
अनि के गरौँ हामी
रोकेर गर्न अपराध
देखाइदेऊ बाटो
कोरिदेऊ गन्तव्य
बाचा भयो तिमीलाई–
हिँड्नेछौँ तिमीले कोरिदिएको
गन्तव्यमा
रोक्नेछौँ
कुकर्म
गर्नेछौँ
सुकर्म
अनि बन्नेछौँ
विश्वकै सभ्य नागरिक । ०
नेपाल
No comments:
Post a Comment