Madison Kothey Sahitya

कविता : मिटर ब्याज

कविता : मिटर ब्याज
– एकबहादुर क्षत्री


भाडा बढी असुल गरी ठगी गर्ने टेक्सीको मिटर
उल्टो घुमाइ भस्मासुर लुटिरहने बिजुलीको मिटर
धारामा पानी नआए पनि बिल चढिरहने पानीको मिटर
दुई–चार वर्षमा नै सावाँभन्दा दोब्बर हुने चर्को ब्याजको मिटर
 
मिटर ब्याज लिनु–दिनु अपराध हो भने पनि लिएकै दिएकै छन्
जसको मोहमा फसेर आफू र आफ्ना जनहरूको भविष्य गुमाएका छन्
ब्याज लिने पनि दिने पनि दुवैको ज्यान गुमाएका छन्
गैरकानुनी हुँदाहुँदै पनि यस्ता व्यवसाय झन्झन् मौलाएका छन्
 
आगोको अगाडि घिउ राखेर
घिउ पग्लन दिन्नँ भनेर कहाँ हुन्छ र ?
घिउ पग्लन नदिन त
आगोलाई नै निभाउनुपर्ने होइन र ?
बाख्रालाई झारा टार्ने खोरमा राखेर
बाख्रालाई कसरी बचाउन सकिन्छ र ?
बाघबाट बचाउन त बाख्रालाई
सुरक्षित फलामे खोरमा राख्ने होइन र ?
 
एक्काइस सालमा भूमि सुधार लागू भएदेखि
दर्जनौँ कानुन बने तर रोक्न सकेन
राणातन्त्र, राजतन्त्र, प्रजातन्त्रपछिको
लोकतन्त्र गणतन्त्रले पनि रोक्न सकेन
च्याउ उम्रेजस्तै हजारौँ
बैङ्क तथा वित्तीय संस्था खुले पनि केही नापेन
माओवाद, देउवावाद, ओलीवाद, समाजवाद
अनि भ्रष्टाचार विरोधीवाद कुनै वादले पनि रोक्न खोजेन
 
मिटर ब्याज वा अन्य अपराधलाई टेवा पु¥याउने
एक मात्र साधन ठूला नोट रहेछ
एक मात्र साधन जसलाई
रुइतले सुधार्न नसक्ने आँखाले पनि देख्दो रहेछ
ठूला दरका नोट खारेज गर्नु नै
मिटर सुरक्षाको एक मात्र विकल्प रहेछ
ठूला दरका नोट हटाउनु नै
सबै अपराध हटाउने एक मात्र उपाय रहेछ । ०
अमेरिका

No comments:

Post a Comment