Madison Kothey Sahitya

कविता : दाउन्ने पहाड र यी बस्तीहरु

 कविता : दाउन्ने पहाड र यी बस्तीहरु
– उत्तमध्वज केसी

 
युगौँदेखिका यी सुन्दर बस्तीहरू
खण्डित मनहरू
भावशून्य मुहारमा जेलिएका कथाहरू र भोका कथाहरू
आफैँमा लपट्दै समेट्दै आइरहेको यो बूढो धरहरा ।

कहिले आँसुको भेलमा पौडँदै
कहिले उच्छ्वासमा रमाउँदै
आफैँ ओछ्याइँदै आफैँ बिछ्याइँदै
समयको प्रभावसँगै हाँस्ने रुने यो बूढो झ्यामोलोङ्गोमा


कति आस्थालाई सुमसुम्याउँछ
कति आन्दोलित मनलाई थुमथुम्याउँछ
कहिले हर्के दाइको टोपीसँगै फाटिदिन्छ
कहिले सुन्तली भाउजूको चोलीसँगै उध्रिदिन्छ
कहिले धनिया भाउजूको परिवारसँगै भोकै निदाइदिन्छ
कहिले बियरको मातसँगै मातिदिन्छ
यो बूढो आइफिल टावर

प्रत्येक परिवर्तनसँगै विकासको भोटो पाउने आसमा
रमेका यी बस्तीहरू आफैँ किनिन्छन्, आफैँ बेचिन्छन्
बसाइँसराइ हुन्छ उताका यता, यताका उता
बोतल नयाँ रक्सी पुरानै

यी बस्तीहरूको पहरेदारीमा सडक बालक जस्तै
खुला आकाश ओढ्दै नाङ्गो धर्ती बिछ्याउँदै
कहिले कोमल हृदय जस्तै गलिदिन्छ
कहिले दुनियाँलाई उज्यालो छर्न मैनबत्ती जस्तै जलिदिन्छ
सहिद जस्तै राष्ट्रका लागि बलिदिन्छ, गलिदिन्छ
यो बूढो चौकीदार ।

यसमाथि कति पजेरो गुडे
कति प्राडो दौडिए
कति दारुका बोतल फुटे
कति सङ्कल्पका हात उठे
फेरि पनि यी बस्तीहरूका इतिहास र वर्तमानसँगै
यी दाउन्ने पहाड र बस्तीहरू
आफैँ हराउँदै आफैँ दुखाउँदै
फूलवाको दुःखसँग खेल्दै
रामहरकहरूको दिनचर्या नियाल्दै
युगौँदेखिका यी बस्तीहरूको
चौकीदार बनेको छ
यो बूढो धरहरा, यो बूढो झ्यामोलोङ्गोमा
यो बूढो आइफिल टावर
यो बूढो दाउन्ने पहाड । ०

No comments:

Post a Comment