Madison Kothey Sahitya

कविता : अपराध

 कविता : अपराध
– अर्चना शर्मा


असन्तुलित तराजुले
हात काँपिरहेको राम शाह
सन्त्रस्त मुटु फुलेको भक्ति थापा
चिन्तनशून्य मस्तिष्कको देवकोटा
झ्याउँकीरी आवाजमा कराउने
हरदिन बलात्कृत अर्की नयाँ निर्मला !
उफ् !
किन आज यतिसारो ऐँठन गरिरहेका छन्
रगताम्य मेरो शरीरमा !

रामकली !


तिमीले सुन्यौ ?
तिम्री नाबालिग छोरी सुन्तली
दिउँसै अपहरित भएकी छ बस्तीबाट !
छोरी बेपत्ता पार्नेहरूका
बिना साइलेन्सरका मोटरसाइकलको आवाजले
तिम्रो खसम बेहोस छन् उति बेलैदेखि
पोहोर तिम्रो छोरो चोरेर सीमापारि बेच्नेहरूको
डोजरले उध्रेको छ तिम्रो गाउँ
तिम्रो मनमा जस्तै
बीभत्स पहिरो गएको छ पाखो
त्यही घाँस काट्ने हँसियासहित
मुठी कसेर सडकमा आऊ !
अब गुमाउन के पो बाँकी रह्यो र रामकली !

ए दोर्जे !
बडासाहेबको दाउ लागेको छैन क्यासिनोमा
त्यतैबाट भर्खर निस्केका दुःशासनहरू
खुला तरकारी बजारमा साडी तान्दै छन् !
जर्साहेबको छोरो उत्ताउलिँदै छ
आमाकी उमेरकी वृद्धाको
कहिलै घाम नपरेका सेता तिघ्रा हेरेर

माने घुमाएर नबस अब
म पनि भोकै छु
पूरै पृथ्वी भाइरल ज्वरोले थलिएको बेला
आफ्नो जीवन रक्षार्थ
चियाउँदै झ्यालबाट झिक खुकुरी
अब, निस्क सडकमा
त्यसपछि मात्र बच्न सक्छ,
बामियानमा फुटाइन बाँकी बुद्धको मूर्ति पनि

फूलवा !
फूल छेउ घुम्ने प्रणय भमरा देख्दा पनि
खै कुन डरले आङ सिरिङ्ग हुन्छ
पुतली स्वयम् पनि खै कुन पीडा–सन्त्रासले
झुसिल्कीरा देखेर थर्थर काँप्छे

खोलामा नुहाउन जाँदा
जिस्क्याउने त्यो घामभन्दा
डरलाग्दो बनेको छ
गोधूलिको चिसो सिरेटो
फक्रिन नपाउँदैका कोपिलाका पत्रहरूमा
तुसारो झारिदिएका छन्
साधु गाईको खुलेआम हत्या गरेर
बुर्कुसी मार्दै हिँडेका साँढेहरू
दूषित भेलमा चुर्लुम्मै डुबेर
तिनै पानीमाथिका ओभाना ब्वाँसाहरू
सुसेली मार्दै
तिघ्रा बजाउँदै हिँडेका छन् गल्लीगल्लीमा

युगौँदेखि अज्ञात बगिरहेका
हरेक थोपा रगतको
कसम खाएर भन्छु
अब म साँच्चै बोल्छु
निडर भएर बोल्छु
जालझेलका झालेमाले
पर्दाहरू च्यातेर बोल्छु !

बोल्छु,
हो म अब साँच्चिकै बोल्छु
शताब्दियौँदेखि नबोलिएका
पीडा र वेदनाका तीता सत्य
सर्वाङ्ग उघारेर बोल्छु ! ì
नारायणगढ, चितवन

No comments:

Post a Comment