Madison Kothey Sahitya

कविता : विक्रीमा छ

कविता : विक्रीमा छ
– अप्सरा गिरी


आत्मा विक्रीमा छ
ज्ञान विक्रीमा छ
विवेक विक्रीमा छ
हो हजुर, यहाँ मनोरतिका हर साधन विक्री हुन्छ
यहाँ सब थोक विक्रीमा छ ।

प्रेम विक्रीमा छ
प्रेमी विक्रीमा छ
माया विक्रीमा छ
हो हजुर, यहाँ सम्बन्धको नापतौल अनि मोल हुन्छ
यहाँ सब थोक विक्रीमा छ ।

अङ्ग विक्रीमा छ
रगत विक्रीमा छ
शरीर विक्रीमा छ
हो हजुर, यहाँ हाम्रा चेली अनि भोलिका सन्तति विक्री हुन्छ
यहाँ सब थोक विक्रीमा छ ।

संविधान विक्रीमा छ
नेता विक्रीमा छ
भूभाग विक्रीमा छ
हो हजुर, यहाँ देश थोक अनि खुद्रामा विक्री हुन्छ
यहाँ सब थोक विक्रीमा छ ।

हक विक्रीमा छ
अधिकार विक्रीमा छ
न्याय विक्रीमा छ
हो हजुर, यहाँ शक्तिको बाघपन्जा नै भारी हुन्छ
यहाँ सब थोक विक्रीमा छ ।

सेना विक्रीमा छ
प्रहरी विक्रीमा छ
कर्मचारी विक्रीमा छ
हो हजुर, यहाँ हरेक तप्का उम्लिएर तप्किरहेको हुन्छ
यहाँ सब थोक विक्रीमा छ ।

मान विक्रीमा छ
सम्मान विक्रीमा छ
ताली विक्रीमा छ
हो हजुर, यहाँ दोसल्ला र प्रमाणपत्रको भारीको रेट हुन्छ
यहाँ सब थोक विक्रीमा छ ।

धर्म विक्रीमा छ
भक्त विक्रीमा छ
आस्था विक्रीमा छ
हो हजुर, यहाँ ईश्वरको सबैभन्दा ठूलो व्यापार हुन्छ
यहाँ सब थोक विक्रीमा छ ।

रोजगारी विक्रीमा छ
व्यापार विक्रीमा छ
मजदुरी विक्रीमा छ
हो हजुर, यहाँ हर गिद्ध कर्मको सिनो कुरिरहेको हुन्छ
यहाँ सब थोक विक्रीमा छ ।

स्वास्थ्य विक्रीमा छ
सेवा विक्रीमा छ
औषधी विक्रीमा छ
हो हजुर, यहाँ हर चोकमा गरिब अस्पताल हुन्छ
यहाँ सब थोक विक्रीमा छ ।

शिक्षा विक्रीमा छ
परीक्षा विक्रीमा छ
नतिजा विक्रीमा छ
हो हजुर, यहाँ हुँडारहरूको लुछाचुँडी मनोमानी हुन्छ
यहाँ सब थोक विक्रीमा छ ।

संस्कृति विक्रीमा छ
संस्कार विक्रीमा छ
रीति विक्रीमा छ
हो हजुर, यहाँ नेपालीपन कम जात–जातको नाराको हुङ्कार हुन्छ
यहाँ सब थोक विक्रीमा छ ।

भोक विक्रीमा छ
अशिक्षा विक्रीमा छ
अविकास विक्रीमा छ
हो हजुर, यहाँ गरिबीको आवरणमा पैसा छाप्ने खेल हुन्छ
यहाँ सब थोक विक्रीमा छ ।

भनूँ के अरू केके विक्रीमा छ
रुग्ण आमाको परदेशी छोरीको भोलि विक्रीमा छ
निमोठिएको सपना
र भात्किएको विश्वास लिएर
म आफैँ विक्रीमा छु
हो हजुर, म आफैँ विक्रीमा छु । ०
– काठमाडौँ, नेपाल
हालः म्याडिसन, विस्कन्सिन, अमेरिका

No comments:

Post a Comment